होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु

0 Shares

काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारको अस्थायी बसोबास व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ। प्रभावित परिवारको इच्छाअनुसार अस्थायी आश्रय वा भाडाको घरमा बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपत्कालीन अवस्थामा बाढी प्रभावितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब भने प्रत्येक परिवारको आवश्यकता पहिचान गरी छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको छ।

शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’मार्फत आवश्यकता मूल्यांकन फारम भर्न थालेको छ। मंगलबारदेखि सुरु भएको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सर्वेक्षणबाट प्रभावित परिवारको संख्या, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको विवरण, अस्थायी आश्रय वा भाडामा बस्न चाहेको विकल्प, जग्गाको उपलब्धता र स्थानान्तरणका सम्भावित स्थानबारे जानकारी संकलन गरिनेछ।

त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यक पूर्वाधारको अवस्थासमेत सर्वेक्षणमा समेटिनेछ।

घिमिरेका अनुसार पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरिनेछ। त्यसपछि होल्डिङ सेन्टरभन्दा बाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही विधिबाट सर्वेक्षण गरिनेछ।

सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारलाई तत्काल आवश्यक अस्थायी बसोबासको व्यवस्था गर्न तथा त्यससम्बन्धी योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार