भोटेकोशी बाढीमा बेपत्ताको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री बालेन

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेनले भोटेकोशी बाढीबाट प्रभावित विद्युत् आयोजना क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राखिने बताएका छन् ।

प्रधानमन्त्री बालेनका अनुसार भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो । बाढीले रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो ।

बाढीबाट विद्युत् आयोजना क्षेत्रमा कार्यरत केही मानिस सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरुदेखि नै खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्रीले बताएका छन् । खोजीमा भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन् ।

प्रधानमन्त्रीका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवक्र्सका सम्पूर्ण संरचना तथा पावरहाउस र भूमिगत पावरहाउसका अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ । नेपाली सेनाको टोली एक कर्मचारीको सहयोगमा सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला पार्न सकेको छैन । अहिले हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्‍याएर खोजी कार्य जारी राखिएको छ ।

त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा दुई शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । सुरुङमा ठूला चट्टान र दलदलका कारण खोजीमा कठिनाइ भए पनि नेपाली सेना र आयोजनाका कर्मचारीले खोजीलाई निरन्तरता दिइरहेका छन् ।

चिलिमे जलविद्युत् आयोजनामा सुरुङको प्रवेश विन्दुबाट करिब ९० मिटरभित्र प्रवेश गर्दा दुई शव फेला परेको बताइएको छ । खोजीका लागि बबक्याट एस्काभेटरसहित अन्य उपकरण प्रयोग भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ आयोजनामा सुरुङभित्र करिब २०० मिटर पुगेपछि ताल भेटिएको र थर्मल ड्रोनमार्फत खोजी गरिएको प्रधानमन्त्रीले बताएका छन् । खोजीका क्रममा एक शव फेला परेको थियो भने भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको थियो ।

नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ आयोजनामा सुरुङको मुख पत्ता लगाउन कठिन भएपछि ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो । करिब २५ मिटर उत्खननपछि सुरुङ पत्ता लगाएर उद्धार टोली भित्र प्रवेश गरेको थियो । भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । अहिले थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेरामार्फत खोजी जारी छ ।

त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना र आयोजनाका कर्मचारीले खोजी गरिरहेका छन् । टोली अडिट सुरुङको करिब १.७ किलोमिटरभित्र पुगेको र त्यहाँ एउटा गाडी फेला परेको प्रधानमन्त्रीले बताएका छन् । बाढीका कारण आयोजनाका ६ आवासीय तथा एक कार्यालय भवनसमेत पुरिएका छन् । ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन गरिएको छ ।

प्रधानमन्त्री बालेनले विपद्का बेला नेपालीको मानवीय भावना व्यवहारमा उतार्दै स्रोत, साधन र समयको सीमितताबीच पनि खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताएका छन् ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खोज तथा उद्धारमा खटिएको उल्लेख गर्दै अभियानमा सहयोग गर्ने मित्रराष्ट्रका विशेषज्ञ टोलीप्रति समेत आभार व्यक्त गरेका छन्।

सम्बन्धित समाचार