साउनमा घरजग्गा कारोबार बढ्यो, पूँजीगत लाभकर वृद्धिले राजस्व १७% ले उक्लियो

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा घरजग्गाको कारोबारसँगै त्यसबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको साउनको तुलनामा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्दा राजस्व १६.९२ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएकोमा चालु आवको सोही महिनामा यो संख्या बढेर १ लाख १४ हजार ८ पटक पुगेको छ। त्यस्तै, लिखत पारित हुने संख्या ३१ हजार ६२१ बाट बढेर ३३ हजार ९७८ पटक पुगेको छ ।

घरजग्गा कारोबारबाट संकलित राजस्व पनि गत वर्षको साउनको ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसअनुसार एक वर्षमा राजस्व ५५ करोड ६७ लाख रुपैयाँले बढेको हो ।

कित्ताकाटमा उल्लेख्य वृद्धि

साउनमा जग्गाको कित्ताकाटसमेत ह्वात्तै बढेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको साउनमा २० हजार ९०१ कित्ता जग्गालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो। चालु आवको साउनमा भने ३० हजार ६८ कित्तालाई विभाजन गरी ६१ हजार १०२ कित्ता बनाइएको छ।

कर बढेपछि कारोबारभन्दा राजस्व वृद्धि उच्च

घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्दा राजस्व भने १६.९२ प्रतिशतले बढ्नुमा चालु आर्थिक वर्षदेखि लागू भएको पूँजीगत लाभकर वृद्धि प्रमुख कारण रहेको जानकारहरूको भनाइ छ ।

यसअघि पाँच वर्षभन्दा कम अवधि होल्ड गरी घरजग्गा बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत र पाँच वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो ।

चालु आर्थिक वर्षको बजेटमार्फत पाँच वर्षसम्म होल्ड गरिएको घरजग्गाको लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा पाँच वर्षभन्दा कम अवधि होल्ड गरिएको घरजग्गाको लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएको छ ।

यसरी कारोबारको संख्या बढ्नुका साथै करको दरसमेत वृद्धि भएकाले घरजग्गाबाट संकलन हुने राजस्वमा कारोबार वृद्धिको तुलनामा बढी प्रभाव परेको देखिन्छ ।

सम्बन्धित समाचार