भोटेकोशी बाढीले भत्काएको सडक सम्पर्क जोडिँदै, देवीघाट-जिलिङ सडकमा बेलीब्रिज जडान सुरु

0 Shares

नुवाकोट। भोटेकोशी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट–जिलिङ सडक सम्पर्क पुनःस्थापना गर्न तादी नदीमा बेलीब्रिज जडान सुरु भएको छ।

विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले शनिबारदेखि पुल जडानको काम थालेको हो। पुल तयार भएपछि देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोडिनेछन्। यससँगै धादिङतर्फको यातायात सम्पर्कसमेत सहज हुने अपेक्षा गरिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले तादी नदीमा रहेको करिब ५५ मिटर लामो पक्की पुल बगाएको थियो। पुल बगेसँगै देवीघाट हुँदै आसपासका क्षेत्रमा आवतजावत प्रभावित भएको थियो।

नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको प्राविधिक टोली पुल जडानमा खटिएको छ। करिब ६० मिटर लामो र ५.५ मिटर चौडा पुलको भारवहन क्षमता ५० टन रहने सेनाले जनाएको छ।

पुलको सिभिल संरचनासम्बन्धी काम सडक विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ। सामग्री तथा अन्य काममा अवरोध नभए केही दिनमै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

भोटेकोशी बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा त्रिशूली नदी वारपार गर्ने पुलमा समेत क्षति पुगेको छ। सडक सम्पर्क तत्काल पुनःस्थापना गर्न देवीघाटसँगै त्रिशूली बजार र बेत्रावतीलगायत स्थानमा पनि अस्थायी पुल जडान गर्ने तयारी भइरहेको छ।

देवीघाटमा पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित गल्छी–विदुर हुँदै रसुवातर्फको सडक सम्पर्क पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार