भोटेकोशी बाढीपीडितलाई एनआईसी एशिया बैंकको २ करोड २१ लाख सहयोग

0 Shares

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले भदौ ११ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

बैंकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

त्यस्तै, बाढीपछि सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको प्रभावकारी उपचारका लागि बैंकले कामना गरेको छ।

भोटेकोशी बाढीपछि सरकारले राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग संकलन गरिरहेको छ। निजी क्षेत्रका विभिन्न कम्पनी तथा संघसंस्थाले समेत कोषमा आर्थिक सहयोग घोषणा तथा हस्तान्तरण गरिरहेका छन्।

सम्बन्धित समाचार