हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

0 Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिमा प्राधिकरणले नयाँ सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरेपछि कम्पनीका हालका सीईओ कपिलकुमार दाहालले उक्त प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो ।

धितोपत्रसम्बन्धी मुद्दामा अनुसन्धानका लागि २०८३ साउन २२ गते हिरासतमा परेपछि दाहाल स्वतः निलम्बनमा परेका थिए। पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका दाहालले आफू निलम्बनमा रहे पनि सीईओ पद रिक्त भएको मान्न नमिल्ने दाबी गर्दै नियुक्ति प्रक्रिया रोक्न माग गरेका थिए ।

निलम्बनमा परेको व्यक्ति धरौटीमा रिहा भएपछि पद रिक्त हुने वा नहुने विषय गम्भीर कानुनी प्रश्न रहेको भन्दै सर्वोच्चले तत्काल नयाँ नियुक्ति प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।

सर्वोच्चले आगामी भदौ १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यस अवधिसम्म बिमा प्राधिकरणले भदौ ३ गते प्रकाशित गरेको नयाँ सीईओको दरखास्त आह्वानसम्बन्धी सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ ।

 

सम्बन्धित समाचार