काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेसँगै विपक्षी दलहरूले सदनको आन्दोलन रोकेका छन्।
लामो समयदेखि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा उत्रिँदै आएका विपक्षी दलहरू सभामुखको निर्देशनपछि सोमबारबाट सदन सुचारु गर्न सहमत भएका हुन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही समयदेखि नै विपक्षी दलहरूले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने वा स्पष्टीकरण दिनुपर्ने माग गर्दै सदनमा अवरोध गर्दै आएका थिए।
सोमबारको बैठक सुरु हुनासाथ नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। विपक्षीहरूले प्रधानमन्त्रीले आफ्नो विवादित भनाइ फिर्ता लिनुपर्ने र प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले अनिवार्य रूपमा सांसदका प्रश्नहरूको जवाफ दिने क्रम नियमित गर्न माग गरेका थिए।
विपक्षी दलहरूको लगातारको विरोधपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ अनुरूप प्रधानमन्त्रीलाई सांसदका प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन्।
‘माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरू र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधि सभा नियमावलीको नियम ५६ देखि ५९ सम्मको व्यवस्था बमोजिम जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई निर्देशन गर्दछु,’ सभामुख अर्यालले भने।
प्रधानमन्त्रीलाई निर्देशन दिन नसकेको भन्दै विगत केही समयदेखि सभामुख अर्यालको आलोचना हुँदै आएको थियो। सोमबारको रुलिङसँगै अर्यालले आफूमाथि लागेको आलोचनालाई चिर्दै सदनको गतिरोध अन्त्य गर्न निर्णायक भूमिका खेलेका छन्। सभामुखको रुलिङ लगत्तै विपक्षी दलहरूले आफ्नो विरोध कार्यक्रम स्थगित गरेका छन्। अब प्रधानमन्त्री शाहले आगामी बैठकमा उपस्थित भई सांसदहरूका जिज्ञासा र आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्नेछ।