आफ्ना मतदातालाई गृहमन्त्री गुरुङको चुनौतीः तुरुन्तै बाचा पूरा हुँदैन, भोट फिर्ता लैजानु

0 Shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफूले चार महिनामा मतदाताको माग पूरा गर्न नसक्ने भन्दै भोट फिर्ता लैजान चुनौती दिएका छन् । गोरखाको शहीद लखन गाउँपालिका ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा किन नभएको भन्दै उनीसँग जवाफ मागेका थिए ।

आफ्ना मतदाताले अस्पताल सुधारको माग राख्दै गर्दा मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजानु भनेका हुन् । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनीले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा यस्तो चुनौती दिएका हुन् ।

यसअघि हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रमअनुसार उनी शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेट्न पुगेका थिए ।

आइतबार साँझ मन्त्री गुरुङ शहीद लखन गाउँपालिका ९ का मतदातासँगको भेटघाटमा थिए । भेटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेलगायत स्थानीय नेताहरूसमेत उपस्थित थिए ।

यस क्रममा सत्तारुढ दल रास्वपाकै वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई स्मरण गराएका थिए । यस क्रममा उनले आफूले बाचा गरेको स्वीकारेका थिए ।

गृहमन्त्री गुरुङको यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।

गृहमन्त्री गुरुङलाई चुनावी वाचा स्मरण गराउँदै स्थानीय एक जनाले भन्छन्, ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै? हजुरले मन्त्रालयको सचिवलाई फोन गर्नुभाथ्यो यहीँबाट। र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो, खै त? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’

यस क्रममा मन्त्री गुरुङ प्रश्नकर्तालाई भन्छन्, ‘यति साना-साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन, त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौँ, के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि ।’

अनि ती व्यक्तिले मन्त्री गुरुङको छेउमा बसेका व्यक्तिलाई ‘तिमीले पठाएनौँ लिस्ट?’ भन्छन् । ती व्यक्तिले पनि लिस्ट ‘पठाएको’ जानकारी गराउँछन् ।

प्रश्नकर्ताले थप भन्छन्, ‘यहाँ गाउँका मान्छेले मार्ने भइसके त, हिजो बोलेर गाको हो सुधन गुरुङले, अहिले खै भन्छन् ।’

अनि गृहमन्त्री सुधन भन्छन्-‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ, तपाईंलाई काम भए पुग्ने होइन त? चार महिनामा त फेरि कायापलट गर्न म सक्दैन, भोट लिएर जानुस् ।’

गृहमन्त्रीको यो अभिव्यक्तिपछि सहभागीहरू हाँस्छन् । अनि एक व्यक्ति भन्छन्-जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि ।’

यसका खण्डन गर्दै मन्त्री गुरुङ भन्छन्, ‘चार महिनामा बल्ल १५/२० दिन भइराछ, अहिले चाहियो भन्दैमा पाइन्छ ?’

सम्बन्धित समाचार