काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफासँगै जीवन बिमा कोषमा समेत उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३७ करोड ७ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा करिब ४९ लाख रुपैयाँले बढेको हो ।
कम्पनीको कुल आम्दानी ७ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने खुद बिमाशुल्क ६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको जीवन बिमा कोष पनि उल्लेख्य रूपमा बढेको छ। असार मसान्तसम्म जीवन बिमा कोष १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १३ अर्ब ८३ करोड ३६ लाख ९३ हजार ८३९ रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.५८ रुपैयाँ रहेको छ । ५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.९१ रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८४.३० रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले १ हजार ४१५ वटा दाबी भुक्तानी गरेको छ। सो अवधिमा खुद दाबी भुक्तानी ५ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च ७ अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्य व्यवस्थाबाट १ अर्ब १ करोड ६६ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ। यद्यपि, अघिल्लो आर्थिक वर्षमा लगानी तथा कर्जाबाट भएको आम्दानी १ अर्ब २० करोड ३६ लाख रुपैयाँ रहेकाले यो आम्दानी घटेको देखिन्छ । बैंकमा राखिएको मुद्दती निक्षेपको ब्याजदर घट्दा लगानी आम्दानी प्रभावित भएको देखिन्छ ।
कम्पनीको खुद बिमाशुल्क भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब १७ करोड १८ लाख रुपैयाँ रहेको खुद बिमाशुल्क गत आर्थिक वर्षमा बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
हाल कम्पनीसँग २ लाख ५६ हजार वटा सक्रिय बिमालेख रहेका छन्। ती बिमालेखबाट कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ प्रथम बिमाशुल्क र ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ नवीकरण बिमाशुल्क संकलन गरेको छ । यसले कम्पनीको पुराना ग्राहकबाट हुने आम्दानी पनि बलियो रहेको देखाउँछ ।
कम्पनीले दीर्घकालीनतर्फ १३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ भने अल्पकालीन लगानीतर्फ ७ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ । समग्रमा बिमाशुल्क आम्दानी र बिमा कोषमा भएको वृद्धि सकारात्मक रहे पनि लगानी तथा कर्जाबाट हुने आम्दानीमा आएको कमी कम्पनीका लागि चुनौतीका रूपमा देखिएको छ ।