काठमाडौँ । प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो । बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।
अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन् । प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनीयताको कसुरमा प्रयोग गरिएका कम्प्युटर लगायतका सामाग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।