गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहितको सम्मेलन गोरखाको मनकामना हिलटप रिसोर्टमा सम्पन्न गरेको छ।
कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा केन्द्रित सम्मेलनमा देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गइरहेकाले कर्मचारीले पनि सोहीअनुसार आफ्नो क्षमता विकास गर्दै व्यवसाय प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताइन्।
उनले कर्मचारीलाई आवश्यक तालिम तथा प्रशिक्षण उपलब्ध गराउन कम्पनी निरन्तर अग्रसर रहेको बताउँदै पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत जीवन बीमा व्यवसायमा नयाँ सम्भावना सिर्जना गर्न सकिने बताइन्। डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउँदै प्रविधिको प्रयोगमार्फत बीमा व्यवसाय विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
कम्पनीले कर्मचारीको क्षमता विकास र वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास अध्यक्ष सिंहले व्यक्त गरिन्।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी नयाँ सोच, नयाँ संकल्प र नयाँ अवसरसहित अघि बढिरहेको बताए। सम्मेलन केवल क्यालेन्डर परिवर्तनको कार्यक्रम नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको उनको भनाइ थियो।
सम्मेलनमा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। उनले जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना रहेकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
कर्मचारीलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो। एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले एआईका विभिन्न उपकरणबारे जानकारी दिँदै यसको प्रयोगमार्फत बीमा व्यवसायको डिजिटल मार्केटिङलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने उपायबारे श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रशिक्षण दिएका थिए। उनले विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गर्दै बजार विस्तार, व्यवसाय वृद्धि र प्रतिस्पर्धामा सफल हुने उपायबारे सहभागीलाई जानकारी गराएका थिए।
सम्मेलनकै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न सूचकमा उत्कृष्ट प्रदर्शन गर्ने शाखा कार्यालय तथा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक सक्रिय अभिकर्ता उत्पादन र सर्वाधिक बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालय छनोट गरिएको थियो। साथै चेयरपर्सन क्लब र सीईओ क्लबअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ।
चारदिने सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै आपसी सम्बन्ध र समन्वय सुदृढ गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीबीच ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए।
कम्पनीका अनुसार सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धता थप मजबुत बनाउन योगदान पुर्याएको छ।