कर विजक नराखेको भन्दै ग्यास पसललाई १० हजार जरिवाना

0 Shares

काठमाडौं । नेपालगञ्ज उपमहानगर २ मा रहेको न्यूश्रीस डिष्टीब्यूटर्सलाई १० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले कर विजक नराखेको भन्दै १० हजार जरिवाना गरेको हो ।

डिष्टीब्यूटर्सले भेरी ग्यास बिक्री गर्दै आएको छ । अनुगमन टोलीले नेपालगञ्ज १८ स्थित आकाश राइस तथा फ्लोर मिलबाट बजारमा गएको करिब ३० किलो अखाद्य मासको कालोदाल नष्ट पनि गरेको छ । दालमा अखाद्य रङको मिसावट भएको र खानयोग्य नभएकाले नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए ।

उनका अनुसार सो राइस मिलले आवश्यक कागजातसमेत देखाउन नसकेकाले जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिइएको छ । राइस मिलबाट गएको कालो दाल नेपालगञ्जको राहुल खाद्यान्न तथा किराना पसलमा फेला परेको थियो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जकी अधिकृत नेत्रा बोगटी, नेपालगञ्ज उपमहानगरबाट प्रवीणकुमार राना, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतमलगायत थिए ।

सम्बन्धित समाचार