काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखाहरूलाई पत्र काट्दै लामो समयदेखिको बक्यौता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ । महामन्त्री ऋषिरमण खनालले पत्र लेखेर २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाण पठाउन भनेका छन् ।
विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषद्को सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख गरेको छ । ती जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत फरक फरक शीर्षकमा गरी २५ वर्षदेखिको झण्डै २ करोड बक्यौता रहेको बताइएको छ । दिइएको समयसीमामा रकम जम्मा नगरे प्रचलित ऐन कानुन र संस्थाको विधान अनुसार थप कारबाही अघि बढाइने महामन्त्री खनालले बताए ।
लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरुजुका विषयमा प्रश्न उठ्दै आएको सन्दर्भमा नयाँ नेतृत्वले चालेको यो कदमले केन्द्र र जिल्ला शाखाहरूबीचको आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने विश्वास गरिएको रेडक्रस केन्द्रीय कार्यालयका एक अधिकारीले बताए ।