सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई भेटेपछि नागरिकको सुरक्षा र न्यायका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
गृहमन्त्रीले वर्तमान सरकारप्रति जनताको ठूलो आशा रहेको र नागरिकका मागहरू जायज भएको बताए ।
‘पहिला धेरै पटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन । हामीलाई भोट दिएर पठाउने नागरिकलाई निराश बनाउने काम हाम्रो तर्फबाट हुने छैन,’ उनले भने ।
विगतदेखि नै दर्ताविना ठूलो लगानीमा मस्जिद र मदरसाहरू बनेको तर सरकारले निगरानी नगरेको भन्ने स्थानीयको प्रश्नमा गृहमन्त्री गुरुङले भने, ‘हामी सरकारमा आएको भर्खर तीन महिना भयो । पहिला के भयो र कसले निगरानी गरेन, त्यो पुरानो भारी हामी अहिले बोक्न सक्दैनौँ । तर अबका दिनमा यस्ता कुरामा सरकारले ध्यान दिनेछ ।’
घटना भएको पाँच दिनपछि मात्रै किन आएको भन्ने प्रश्नमा उनले सुरक्षा व्यवस्थापनका कारण केही समय लागेको बताए ।
उनले भने, ‘गृहमन्त्री जहाँ पनि पुग्नुपर्छ भन्ने आशा स्वाभाविक हो । तर मेरो अर्को दायित्व देशको अन्य ठाउँमा पनि स्थिति नबिग्रियोस् भनेर पूर्वतयारी गर्नु थियो । त्यसकै परिणामस्वरुप हामीले स्थितिलाई नियन्त्रणमा राख्न सफल भयौँ ।’
सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउन बजेटको अभाव रहेको चर्चा गर्दै उनले साउन १ गतेदेखि मात्र नयाँ बजेट आएकाले अब सुरक्षा संयन्त्रलाई थप बलियो बनाइने बताए ।
सुरक्षा निकायलाई थप उत्तरदायी बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले योजना बनाएर काम सुरु गरिसकेको जानकारी पनि उनले दिए ।