काठमाडौँ । बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नपाउने भएका छन् ।
सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर जारी गरेको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै कुनै पनि बीमा कम्पनीलाई कानुन विपरीत प्रिमियम मूल्यमा सेयर जारी गर्न नपाउने बताएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
अदालतले कुनै पनि बीमा कम्पनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न नदिन नियामक निकायहरुका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
अधिवक्ताद्वय यमप्रसाद भट्टराई र भीमसेन रायमाझीले नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, हिमालयन रिइन्स्योरेन्स लगायतलाई विपक्षी बनाई उत्प्रेषण र परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
हिमालयन रिइन्स्योरेन्सले संस्थापकलाई प्रतिकित्ता १०० रूपैयाँमा शेयर दिएर सर्वसाधारणलाई भने १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रूपैयाँमा शेयर बिक्री गरेको थियो।
रिइन्स्योरेन्सले यसअघि नै बिक्री गरी प्राप्त गरिसकेको प्रिमियम रकम (अंकित मूल्य १०० भन्दा बढीको रकम) को हकमा विशेष व्यवस्था गर्न आदेश दिएको छ ।