सुरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको डीन

0 Shares

काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् ।

काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए । सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेसन टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि रहँदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् ।

डिनको जिम्मेवारी सम्हालेपछि बिहीबार जारी गरेको प्रेस वक्तव्यमा वैद्यले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताएका हुन् ।

उनले एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गरे । ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको बताए । मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

उनका अनुसार, आफ्नो कार्यकालमा एचसीसीएनले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै सदस्यहरूले प्रतिनिधित्व गर्ने मुलुकहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने छ । त्यसमार्फत गुणस्तरीय विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार र बजार पहुँच विस्तार गर्ने तथा शैक्षिक र सांस्कृतिक आदान प्रदानलाई थप सशक्त बनाउने लक्ष्य लिइने छ ।

वैद्यले नेपालको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । एचसीसीएनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभव र सद्भावलाई नेपालको दीर्घकालीन विकास प्राथमिकता र विश्वव्यापी आकांक्षाको पक्षमा परिचालन गर्न तयार रहेको बताए ।

सम्बन्धित समाचार