विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी, ऊर्जा व्यापारमा नेपाललाई १८ अर्ब ७६ करोड खुद नाफा

0 Shares

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट हालसम्मकै सर्वाधिक २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। स्वदेशी जलविद्युत् उत्पादन बढेसँगै विद्युत् आयात घट्दा ऊर्जा व्यापारमा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) हासिल गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष भारत र बंगलादेशतर्फ ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट (किलोवाट घण्टा) विद्युत् निर्यात गरिएको थियो। भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स–डीएएम, आईईएक्स–आरटीएम), एनभीभीएन तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसामा प्रतियुनिट विद्युत् बिक्री हुँदा कुल २९ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको हो।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षमै विद्युत् निर्यातको परिमाण ६२.८९ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

आयात घट्यो, विदेशी मुद्रा बचत बढ्यो

निर्यात बढेसँगै विद्युत् आयातमा उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्ष नेपालले १ अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो।

आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। समीक्षा अवधिमा आयात घटेसँगै खर्च पनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

चार गुणाले बढ्यो ऊर्जा व्यापारको खुद बचत

गत आर्थिक वर्ष विद्युत् निर्यातबाट भएको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानीबाट आयातमा खर्चिएको १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ घटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ।

यसअघिको आर्थिक वर्षमा ऊर्जा व्यापारबाट नेपाललाई ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्रै खुद बचत भएको थियो। एक वर्षमै यस्तो बचत ३१३ प्रतिशतले बढेको हो।

उत्पादन वृद्धि र सीमापार पूर्वाधारको प्रभाव

प्राधिकरणका अनुसार जलविद्युत् उत्पादनमा भएको निरन्तर वृद्धि, भारतसँगका सीमापार प्रसारण लाइनको विस्तार, विद्युत् व्यापारका लागि बजार पहुँच विस्तार तथा प्रणाली सञ्चालनमा गरिएको सुधारका कारण निर्यात उल्लेख्य रूपमा बढेको हो।

नेपालले अहिले भारतीय ऊर्जा बजारमा दैनिक रियल–टाइम तथा डे–अहेड बजारमार्फत विद्युत् बिक्री गरिरहेको छ। त्यस्तै, त्रिपक्षीय व्यवस्थाअन्तर्गत पहिलो पटक बंगलादेशमा समेत विद्युत् निर्यात सुरु भएपछि निर्यात बजार थप विस्तार भएको छ।

विद्युत् उत्पादन बढ्दै गइरहेका बेला स्वदेशभित्र खपत बढाउन नसकेको अतिरिक्त ऊर्जा निर्यात गर्न सफल भएकाले विदेशी मुद्रा आर्जनमा ऊर्जा क्षेत्रको योगदान तीव्र रूपमा बढ्दै गएको देखिएको छ।

ऊर्जा क्षेत्रका अधिकारीहरूका अनुसार आगामी वर्षहरूमा निर्माणाधीन जलविद्युत् आयोजना सञ्चालनमा आएपछि निर्यातयोग्य विद्युत् थप बढ्नेछ। त्यसका लागि भारत र बंगलादेशसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता तथा थप सीमापार प्रसारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।

ऊर्जा व्यापारमा प्राप्त यो उपलब्धिले नेपाल क्रमशः आयातकर्ता देशबाट क्षेत्रीय ऊर्जा निर्यातकर्ता मुलुकका रूपमा स्थापित हुँदै गएको संकेत गरेको प्राधिकरणको निष्कर्ष छ।

सम्बन्धित समाचार