काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताका लागि अनिवार्य गरिँदै आएको कक्षाको स्वरूप परिवर्तन गरिएको छ।
अब उनीहरूलाई कक्षाको साटो स्वयंसेवकका रूपमा एक घण्टा सडकमा खटाइने भएको छ । ट्राफिकले सडकमा पठाउनुअघि ट्राफिक नियम, बाटो काट्दा अपनाउनुपर्ने सावधानीलगायत विषयमा केही समय जानकारी दिईने छ ।
यसअघि गणतन्त्र दिवसका दिन मङ्गलवार गृहमन्त्री रवि लामिछानेले अब महिनावारीका सुरुका चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाइने र उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लङ्घनमा कारबाही भएकालाई स्वयं सेवकका रूपमा परिचालन गरिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।
प्रहरीले ट्राफिक महिला प्रहरीलाई महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने कार्य मङ्गलवारदेखि नै आरम्भ गरिसकेको छ।
बुधवार बिहानदेखि सडकहरूमा स्वयंसेवकहरु देखिन थालेका थिए। एसएसपी श्रेष्ठले गृहमन्त्रीको घोषणा बमोजिम कारबाहीमा परेकालाई स्वयं सेवकका रूपमा खटाउने कार्य बुधवारदेखि आरम्भ गरिएको बताए।
मापसेसहितका केही ट्राफिक उल्लङ्घनका कारबाहीमा कक्षा लिनुपर्ने अनिवार्य व्यवस्था रहँदै आएको थियो।