ट्रक फसेपछि २२ घण्टासम्म राजमार्ग ठप्प, वैकल्पिक बाटोबाट सवारी आगमन

0 Shares

काठमाडौं । एउटा ट्रकका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि सञ्चालन भएको छ ।

सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालन भएको हो ।

सडकमा फसेको बा प्र ०३-००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका थिए ।

सडक योजनाले उक्त ट्रकका चालक, सहचालक र सवारी धनी सम्पर्कमा नआएकाले त्यसलाई हटाउन नसकेको भनेर गलत सूचना दिएकाले बाटो लामो समयसम्म अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।

योजनाले ट्रकसँग सम्बन्धित व्यक्ति वा ट्रकसँग सम्बन्धित व्यक्तिलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको थियो । तर प्रहरीले भने ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनीसँग सम्पर्क भएको जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ट्रक तान्न विशेष खालको क्रेन चाहिएकाले क्रेन मगाउन आयोजनाले ढिलाइ गरेको जनाएको छ । ट्रक तान्न दुम्कीबाट मगाइएको क्रेन नै दाउन्नेको जाममा फसेको थियो ।

क्रेन नआएपछि वैकल्पिक बाटो निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । सडक आयोजना स्थलमा समस्या आए निर्माण कम्पनी आफैले तत्काल सहज गराउनु पर्ने भए पनि क्रेन ल्याउन नसक्दा लामो समय बाटो अवरुद्ध भएको हो ।

सम्बन्धित समाचार