कायरो । इजिप्टका लेफ्ट–विङ्गर मोस्टाफा जिकोले लियोनल मेसीलाई फुटबल इतिहासकै महान् खेलाडी भनेका छन्, तर ‘क्रिस्टियानो रोनाल्डो पछिको’ स्थानमा । उनले फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा अर्जेन्टिना विरुद्ध मैदानमा उत्रिँदा अधिकांश समय मेसीको ‘उपस्थिति महसुस नभएको’ समेत बताए ।
यो नाटकीय खेलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३(२ ले हराएर प्रतियोगिताबाट आउट गरेको थियो । सुरुमा यासिर इब्राहिम र जिकोको गोलको मद्दतले ‘अण्डरडग’ मानिएको इजिप्टले २(० को अग्रता लिएको थियो । तर, क्रिस्टियन रोमेरो र लियोनल मेसीको गोलपछि इन्जो फर्नान्डेजले थप गरिएको समयमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।
यो खेल रेफ्रीको निर्णय र ठूला विवादहरूले छायामा पर्यो। पहिलो हाफमा जिकोले गरेको एउटा गोल, जसले इजिप्टको अग्रता अझ बढाउन सक्थ्यो, त्यसलाई भीएआरले विवादास्पद रूपमा रद्द गरिदियो । गोल हुनुभन्दा करिब १०० गज टाढा भएको एउटा सामान्य फाउललाई आधार मानेर गोल खारेज गरिएको थियो ।
खेलको पछिल्लो समयमा मोहम्मद सलाहलाई पेनाल्टी बक्सभित्र लडाइँदा पनि इजिप्टलाई पेनाल्टी दिइएन । हारपछि इजिप्ट फुटबल संघले ‘दोहोरो मापदण्ड’ र अन्यायपूर्ण व्यवहारको आरोप लगाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ ।
जिकोले एक अन्तर्वार्तामा भने, ‘मेरो लागि मेसी फुटबल इतिहासकै महान् खेलाडी हुन्, तर क्रिस्टियानो पछि मात्र । किनभने म रोनाल्डोलाई धेरै माया गर्छु, त्यसैले म उनकै नजरबाट फुटबललाई हेर्छु।’
उनले थपे, ‘मैदानमा हुँदाु साँचो भन्नुपर्दा मैले मेस्सीको उपस्थिति नै महसुस गरिनँ । गोल गरेपछि उनी अद्भूत देखिए, तर म कसम खान्छु, ८० मिनेटसम्म मैदानको बीचमा मलाई उनी त्यहाँ भएको आभास नै भएन । ८० मिनेटसम्म हामी मेस्सी विरुद्ध खेलिरहेका छौं जस्तो मलाई लागेन ।’
यस विश्वकपमा पोर्चुगल अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै बाहिरिनुअघि रोनाल्डोले एक गोल गरेका थिए ।
‘प्रतियोगिता फिक्स्ड छ’
खेलपछि इजिप्टका धेरै खेलाडी र कर्मचारीहरूले पक्षपातको दाबी गरिरहँदा जिकोले भने यो प्रतियोगिता नै अर्जेन्टिनाको पक्षमा ‘फिक्स्ड’ (मिलोमतो) गरिएकोसम्म भन्न भ्याए।
‘रेफ्री निष्पक्ष थिएनन् । अन्याय छर्लङ्ग थियो,’ आँसु झार्दै जिकोले भने ।
‘हामीले खेलको सुरुवाती चरणमा राम्रो प्रदर्शन गर्यौं । तर खेलको सुरुदेखि नै अन्याय भइरह्यो । अर्जेन्टिनालाई हराउन २–० को अग्रता मात्र पर्याप्त नहुने रहेछ । यो स्पष्ट छ कि यो प्रतियोगिता फिक्स्ड गरिएको छ,’ उनले भने ।