काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहारा हेल्थ इन्स्योरेन्स योजना सञ्चालन गर्दै आएको छ। इसेवाले शिखर इन्स्योरेन्स सँगको सहकार्यमा यो स्वास्थ्य बीमा योजना उपलब्ध गराएको हो।
कम्पनीका अनुसार न्यूनतम १ हजार ३ सय ९९ रुपैयाँ प्रिमियमबाट सुरु हुने यस योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित अधिकतम ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्छ।
पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा खरिदका लागि ग्राहकले कुनै कागजी प्रक्रिया पूरा गर्नुपर्ने वा बीमा कम्पनीको कार्यालय धाउनुपर्ने छैन। ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद तथा नवीकरण गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कभरेज छनोट गर्न सक्नेछन्।
बीमा योजनाले २४ घण्टा वा सोभन्दा बढी समय अस्पताल भर्ना भई गरिने उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार सुविधा, १५० भन्दा बढी डे–केयर सेवा तथा अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्ने कम्पनीले जनाएको छ।
त्यस्तै, योजनामा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ।
५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध यो बीमा योजना इसेवा एपको ‘इन्स्योरेन्स’ सेक्सनबाट खरिद गर्न सकिनेछ। ग्राहकले आवश्यक विवरण भरेर आफू वा परिवारका लागि उपयुक्त बीमा कभरेज छनोट गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। भुक्तानीपछि बीमा पोलिसी तत्काल डिजिटल माध्यमबाट उपलब्ध हुनेछ।
इसेवाका अनुसार विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जोखिमबाट हुने आर्थिक भार कम गर्न सहारा हेल्थ इन्स्योरेन्स उपयोगी माध्यम बनेको छ। सहज डिजिटल प्रक्रिया, सुलभ प्रिमियम र फराकिलो कभरेजमार्फत स्वास्थ्य तथा वित्तीय सुरक्षा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम अवधिमै १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेको इसेवाले जनाएको छ।
डिजिटल वित्तीय सेवाको दायरा विस्तार गर्दै आएको इसेवाले बीमा पहुँच बढाउन विभिन्न बीमा कम्पनीसँग सहकार्य गरी थप बीमा योजना समेत उपलब्ध गराउँदै आएको छ।