काठमाडौं । यो साता अघिल्लो हप्ताको तुलनामा सुनको मूल्य भारी वृद्धि भएको छ । साताभर तीन दिन सुनको मूल्य बढेसँगै यो शुक्रबार अघिल्लो शुक्रबारको तुलनामा सुनको मूल्यमा भारी वृद्धि देखिएको हो ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य गत शुक्रबारको तुलनामा ४ हजार ७०० रुपैयाँ बढ्दै प्रतितोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको थियो । अघिल्लो शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैm सोमबार सुनको मूल्यमा गिरावट आएको थियो । यो दिन सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको थियो । योसँगै सुनको मूल्य तोलामा २ लाख ७७ हजार ९०० रुपैयाँ तोकिएको थियो ।
बुधबार पनि सुनको मूल्यमा ६०० रुपैयाँले गिरावट आउँदै प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुनको मूल्यमा भारी वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो । जसअनुसार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ७ हजार २०० रुपैयाँ बढेको हो । योसँगै साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार थियो । साताभर सुनको मूल्यमा उतारचढाव हुँदा तोलामा ११ हजार ६०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा समेत साताभर उतारचढाव आएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी मूल्य धातुको मूल्य ४ हजार ६१५ कायम भएको छ ।