भ्रष्टाचार गर्ने मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई चार वर्ष कैदसहित जरिवाना

0 Shares

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ ।

विशेष अदालतले उनीहरूविरुद्ध दुई साताअघि सजाय निर्धारणको पेसी तोकिएपछि सोमबार कैद तथा जरिवाना सुनाइएको हो ।

नगर प्रमुख रामचन्द्र चौधरी र प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देललाई ४–४ वर्ष कैद सजाय भएको हो । उनीहरूविरुद्ध सात महिनाअघि दायर मुद्दा दोषी ठहर गरिएको थियो ।

योसँगै मेयर चौधरी तथा प्रशासकीय अधिकृत सिग्देलले क्रमशः ३७ लाख ३४ हजार रुपैयाँ र २८ लाख २२ हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूविरुद्ध फैसला सुनाएको हो ।

आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा राजस्व चुहावट गरेको अभियोगमा मेयर चौधरी दोषी ठहर भएका हुन् । यसैगरी, उक्त कन्स्ट्रक्सनका सञ्चालक रामविनोद बरै भ्रष्टाचारका दुई मुद्दामा दोषी पाइएका थिए ।

उनलाई एउटा मुद्दामा चार वर्ष कैद र मेयर चौधरी बराबर नै जरिवाना हुने भएको छ । अर्को मुद्दामा पनि उति नै कैद र २८ लाख २२ हजार जरिवानाको सजाय सुनाइएको छ ।

नगरपालिकास्थित चाँदीखोलाको पूर्वाधार उपभोग कर संकलनसम्बन्धी ठेक्का सम्झौता गर्दा कबुल अंकको ५० प्रतिशत हुन आउने रकम दाखिला गर्नु पर्ने खातामा दाखिला नगरिएको भेटिएको थियो ।

यस्तै, १५ लाख रुपैयाँ दाखिला गर्नु पर्ने ठाउँमा केवल पाँच लाख ६५ हजार रुपैयाँ मात्र दाखिला गरी बैंक जमानतसमेत नलिइ सिग्देलले सम्झैता गरेका थिए । ठेक्का सम्झौताको म्याद पश्चातसमेत उक्त रकम दाखिला नभएको भेटिएको थियो ।

सम्बन्धित समाचार