आफ्नै घरमा फेरि नेपाल नामिबियासँग पराजित

0 Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा नामिबिया दुई विकेटले विजयी भएको हो ।

नेपाल दिएको १६९ रनको सामान्य लक्ष्य नामिबियाले आठ विकेट गुमाएर ४० ओभरमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा अलआउट भएको थियो ।

नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह, देव खनाल र ललित राजवंशीले खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले चार–चार विकेट लिए । ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक–एक विकेट लिए । यसअघि नामिबियासँग भएको खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार