क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

0 Shares

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस (डिसिजन रिभ्यु सिस्टम) लागू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको तेस्रो संस्करणदेखि नै आधुनिक खेल प्रविधि डिआरएस लागू गर्ने तयारी गरेको हो।

मैदानमा हुने अम्पायरिङका निर्णयलाई थप निष्पक्ष, सटीक र विवादरहित बनाउनका लागि डिआरएस प्रविधि भित्र्याउन लागिएको हो । यसअघिका संस्करणहरूमा अम्पायरका कतिपय निर्णयलाई लिएर टोली तथा खेलाडीले असन्तुष्टि जनाउँदै आएका थिए ।

डिआरएस लागू भएसँगै मैदानमा प्रयोग हुने ‘हक-आई’ ‘अल्ट्राएज’ र ‘बल ट्र्याकिङ’ जस्ता आधुनिक प्रविधिको सहायताले तेस्रो अम्पायरले रनआउट, एलबीडब्ल्यू तथा क्याचको निर्णयलाई सूक्ष्म रूपमा समीक्षा गर्न सक्नेछन् ।

यसले खेलको नतिजालाई थप विश्वसनीय बनाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

नेपाली घरेलु क्रिकेटको इतिहासमा डिआरएसको प्रयोगलाई खेलकुदको संरचनागत र प्राविधिक विकासका रूपमा महत्त्वपूर्ण फड्को मानिएको छ ।

सम्बन्धित समाचार