काठमाडौं । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वनाथ थारु महेश रहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर २० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ । ६ जनाको समूहले बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका थारु भरतपुर २५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो ।
पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए ।
यो पनि पढ्नुहोस्