काठमाडौं । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ः४० बजे दशरथचन्द नगरपालिका–४ स्थित साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको थियो।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।
बसमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको भए पनि कविराज भट्टको अवस्था मध्यम रहेको बताइएको छ।
घाइते हुनेहरूमा लक्ष्मी ऐरी (२७), हेम विक्रम जोशी (९८), पूर्ण देवी जोशी (६०), पूजा कार्की (२१), ललिता लावड (२०), विजय सिंह थापा, जानकी लावड (३२), लक्ष्मी साउद (३०), कर्ण देव भट्ट (५२) र कविराज भट्ट (३५) रहेका छन्।
प्रहरीका अनुसार बस चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरालाई नियन्त्रणमा लिइएको छ। उनी सकुशल रहेका छन्।