काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका केही नेताहरूलाई सुझाव दिएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको भन्दै प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीभित्रका नेताहरूलाई सुझाव दिएका हुन् ।
प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता र समावेशिताको निम्ति लडेका स्थापित पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढाइराखेको उनले बताए । प्रचण्डले जानेर वा नजानेर पार्टीभित्रकै केही नेताहरूले निराशा बढ्ने काम गरेको आरोप लगाए । त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र कार्यशैली सबै गरिब, मजदुर, किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको बताए ।
सरकारको श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी र जनताका मौलिक अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउने उनले बताए । सदस्यता नवीकरणको सुरुवातसँगै यसले पार्टीलाई अझै व्यवस्थित बनाउन योगदान गर्ने विश्वास लिएको समेत प्रचण्डले बताए ।
त्यस्तै नेकपाका सह–संयोजक माधव कुमार नेपालले जनतालाई केन्द्रबिन्दुमा राखेर सामाजिक, आर्थिक रूपान्तरणको एजेन्डासहित पार्टी अघि बढ्ने धारणा राखे ।पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता अनुसार प्रशिक्षण दिएर पार्टीको नीति स्पष्ट रुपमा जनतामाझ लान सक्ने गरी तयारी गरिने उनको भनाइ छ ।
नेकपाले आगामी दुई महिना डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरणलाई अभियानकै रुपमा अघि बढाउने जनाएको छ ।