काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसका कारण हाल देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भागका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।