काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।
लगानीकर्ताले उक्त आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र एक लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
त्यस्तै, ३४ हजार ४०० कित्ता कर्मचारी तथा ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि रहेको छ।
आईपीओ निष्कासनअघि कम्पनीको क्रेडिट रेटिङमा समेत सुधार भएको छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ।
सोलुखुम्बु जिल्लामा कम्पनीले सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत दुई अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ।
दुधकुण्ड खोला जलविद्युत आयोजनाले २०८१ साउन १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो, जुन नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौतामा तोकिएको मितिभन्दा करिब साढे दुई महिना अगाडि हो।
व्यावसायिक उत्पादन सुरु भएको पहिलो त्रैमासिकमै आयोजनाले स्थापित क्षमताको करिब ९५ प्रतिशत विद्युत उत्पादन गर्न सफल भएको कम्पनीले जनाएको छ। आयोजनाको वार्षिक सम्झौता ऊर्जा सात करोड चार लाख युनिट रहेको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि ८.९४ वर्ष रहेको उल्लेख गरिएको छ।