रास्वपा महाधिवेशन भद्रगोल हुन थालेपछि नेता बुर्लाकोटीले भने– नेता कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयमित, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले पार्टी स्थापनाको छोटो अवधिमै देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी काँधमा आएको उल्लेख गर्दै संगठनलाई अझ व्यवस्थित, परिपक्व र अनुशासित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

‘अधिवेशनहरूले नीति र नेतृत्वलाई खार्दै लैजान्छन् । हामी महाधिवेशनको तयारीमा छौँ, बृहत्तर पार्टी निर्माणको अभियानमा छौँ। एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ । अब धेरै कुरामा संयम अपनाउनुपर्छ। हामी संयमित रहन सक्यौँ भने पार्टी कहिल्यै कमजोर हुँदैन’, उनले भने ।

महामन्त्री बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिका लागि स्थापना गरिएको पार्टी नभएको स्पष्ट गर्दै यो सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको बताए । देशको भविष्य निर्माण गर्ने उद्देश्यले पार्टीमा आबद्ध भएकाले सबैले आफ्नो जिम्मेवारीको दायराभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

उनले इमानदार र सक्षम कार्यकर्तालाई पार्टीले सधैँ उचित जिम्मेवारी दिने उल्लेख गर्दै अधिवेशनबाट जिम्मेवारी नपाए पनि योग्य व्यक्तिहरूलाई विधिसम्मत रूपमा काम गर्ने अवसर प्रदान गरिने बताए ।

सम्बन्धित समाचार