काठमाडौं। इरानले अमेरिकालाई सशक्त जवाफ दिँदै उसका १८ प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको दाबी गरेको छ।
इरानको रिभोलुसनरी गार्डले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत आईआरजीसी एयरोस्पेस फोर्स र नौसेना लडाकु विमानले ‘आक्रमणकारीलाई दण्ड दिएको’ उल्लेख गरेको छ।
आईआरजीसीले लेखेको छ, ‘अली अल सलेम (कुवेत), अहमद अल जाबेर (कुवेत) र शेख इसा एयर बेस (बहराइन) मा रहेका अमेरिकाका १८ महत्त्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको छ।’
यद्यपि इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसैबिच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीले शत्रुको हवाई हमला रोकिरहेको बताएको छ।
सामाजिक सञ्जालमा कुवेती सेनाले भनेको छ, ‘सबै मानिसलाई सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरिएको छ।’
कुवेती सेनाले मानिसहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ। बीबीसी फारसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।