काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपा एमाले नेता डा. भीम रावलले नेपाली कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार गर्न आग्रह गरेका छन् । उनले राज्यका सूचना बेचेको अभियोगमा उनलाई तत्काल गिरफ्तार गरिनु पर्ने बताएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार साँझ संसदमा सम्बोधन गर्दै महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको बताएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताए ।
नेता रावलले देशको सूचना बेचेको आरोप लागेका थापालाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाए गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्रीले बरखास्त गर्नु पर्ने धारणा राखे ।
‘राज्यका सूचना बेच्नु देशद्रोह हो, यसरी सूचना कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्, यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकाले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्,’ उनले भने, ‘यदि, गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् ।’
यस्तै, नेता रावलले गृहमन्त्री लामिछानेले भ्रष्टाचारको विभिन्न मुद्दाबारे संसदमा बोलेको बताउँदै ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गर्न माग गरे ।
उनले आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेका लामिछानेलाई नै कानूनी कारबाही हुनु पर्ने माग राखेका छन् । ‘राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ,’ उनले थपे ।