रास्वपाका महामन्त्री बुर्लाकोटीले भने–रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन

0 Shares

काठमाडौं । प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन शनिबारदेखि देशभर सुरु भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन आयोजना गरिएको र आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ। बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने तय गरिएको छ।

काठमाडौं जिल्ला अधिवेशनको उद्‌घाटन कार्यक्रममा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। बाँकी जिल्लाको अधिवेशन महाधिवेशनपछि सञ्चालन गरिने उनले बताए ।

महामन्त्री बुर्लाकोटीले पछिल्लो समय पार्टीमा नयाँ सदस्यता उल्लेख्य रूपमा वृद्धि भएको बताउँदै संगठनलाई विधि, प्रक्रिया र आन्तरिक लोकतन्त्रका आधारमा अघि बढाइने स्पष्ट पारे। उनले पार्टीभित्र नातावाद, कृपावाद र परिवारवाद स्वीकार्य नहुने व्यवस्था विधानमै रहेको उल्लेख गर्दै भ्रम फैलाएर संगठनलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताए। उनले देशको भविष्य निर्माण गर्ने उद्देश्यसहित पार्टी राजनीतिमा सक्रिय रहेको भन्दै व्यक्तिगत पद र स्वार्थ केन्द्रित राजनीति गर्ने प्रवृत्तिलाई स्थान नदिइने धारणा राखे ।

पार्टीका विभिन्न तहका पदाधिकारी भई सोही तहमा पुनः निर्वाचनमा सहभागी नहुने सदस्यलाई एक तह माथिको अधिवेशनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । महामन्त्री बुर्लाकोटीले भारत भ्रमणका क्रममा पार्टी सभापतिलाई गरिएको सम्मानलाई नेपाली नागरिकको जनमतप्रतिको सम्मानका रूपमा व्याख्या गरे।

रास्वपाले जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने निर्णय यसअघि नै भइसकेको छ।

सम्बन्धित समाचार