काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग भएको करिब एक घण्टाको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्न सक्ने बताएका हुन्।
उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सहज आवागमनका माध्यमबाट दुवै देशबीच विश्वास र प्रगतिमा आधारित साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन्। यसका साथै नेपाल र भारतका नागरिकको साझा समृद्धिका लागि ती सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति लामिछानेसँगको भेटलाई सुखद भन्दै नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको प्राथमिक साझेदारका रूपमा उल्लेख गरेका थिए।