काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्।
प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल २० दिन बिदामा बसेकी हुन्।
न्यायाधीश बिदामा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि पेस हुने गर्छ। शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी हुन्।
सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए।
‘उहाँ हिजो आफैंले २० दिन बिदा स्वीकृत गराएर जानुभएको छ,’ उनले भने।
सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्। मल्लले मंगलबारसम्म कायममुकायम प्रधानन्यायाधीशको रूपमा समेत काम गर्दै आएकी थिइन्।
शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि सर्वोच्चमा स्वागत गर्न पनि मल्ल उपस्थित भएकी थिइनन्। उनी पछिको रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले शर्मालाई स्वागत गरेका थिए।