काठमाडौं । सत्ताको नेतृत्व दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकासलाई ध्यान दिने प्रतिबद्धता जनाएको छ ।
पूर्वी रुकुमबाट रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजलातर्फ जाँदै गरेको जीप भयानक दुर्घटनामा परेको तीन दिनपछि विज्ञप्ति जारी गर्दै रास्वपाले पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
रास्वपाले नागरिकको सुरक्षा पार्टीको पहिलो प्राथमिकता भएको उल्लेख गरेको छ । रास्वपाले २० जनाको ज्यान जाने गरी १७ वैशाखमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा उद्दारका लागि खटिएकामा उच्च सम्मान व्यक्त गरे ।