काठमाडौँ । प्रेमिकालाई होटलमा लगेर जबरजस्ती करणी गरेर हत्या गर्ने ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्दै आएका ३१ वर्षीय संजय विक छन्।
उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले २०८० मंसिर ५ गते तनहुँको भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढुङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको एक होटलमा लगि जबरजस्ती करणीपछि हत्या गरेका थिए।
प्रेमिकाको हत्यापछि फरार भएका उनलाई प्रहरीले २०८१ साल साउन १ गते पक्राउ गरेको थियो।
जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उनलाई जन्म कैदको फैसला भएपछि उनी कारागार चलान भएका थिए।
कारागारमा सजाय भक्तान गरिरहेको अवस्थामा २०८२ भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी जिल्ला कारागार कास्कीबाट अन्य कैदीसँग भागेका थिए।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो।
साथै २०८२ चैत २२ गते नवलपरासीपूर्वको देवचुली नगरपालिका १६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा पनि उनी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हतियार प्रहार गरेपछि उनले उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट गरेका थिए। घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको थियो।
उक्त घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ।