काठमाडौं । मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरु भत्काउन आज बिहानैदेखि डोजर चलाउन थालिएको छ । १३ वटा डोजर प्रयोग बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन सुरू गरिएको हो ।
मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले आज बिहानदेखि भत्काउन सुरु गरिएको हो । घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरबाट नगर प्रहरीसँगै डोजरहरु प्रयोग गरिएको छ ।
यसअघि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्वासी बस्तीका घरटहरा भत्काइएको थियो । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको छ ।
काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुम्वासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ । यी क्षेत्रमा तीन हजार ४९६ घरटहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ४ मंसिर ०८० मा सर्वोच्च अदालतमा बुझाएको लिखित बहस नोटमा उल्लेख छ ।