सन्दीपले भने- नभएको अपराधबाट अदालतले न्याय दियो, फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

0 Shares

काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीप लामिछानले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

गौशाला २६ माथि बलात्कार गरेको आरोपमा राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति गराएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उनीसँगै पीडित भनिएकी गौशाला २६ ले पनि पुनरावेदन गरेका थिए ।

अदालतले दुवैको मुद्दालाई एकै ठाउँमा राखेर बहस गरेको थियो । दुई दिनको बहसपछि सन्दीपलाई अदालतले सफाइ दिएको हो ।

सफाइ पाएसँगै उनले भने, ‘साढे एक वर्षभन्दा माथि भइसक्यो, पहिलेदेखि नै म आफूलाई निर्दोष छु भनिराथ्येँ, धेरै नै तरिकाले फसाएर मलाई आज नभएको अपराधमा फसाएको थियो ।’

यस्तै, उनले अदालतको फैसला सम्मान गर्ने बताउँदै आगामी दिनमा देशका लागि आफ्नो क्षेत्रबाट थप योगदान गर्ने बताए ।

‘मैले पहिला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ, उच्च अदालतको फैसलालाई पनि सम्मान गरेर अगाडि बढ्ने छु,’ उनले थपे, ‘मलाई साथ दिनु भएको छ, त्यसका लागि आभारी छु, आगामी दिनमा नेपाललाई मैले जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा पनि माथि पुर्‍याउँछु ।’

सम्बन्धित समाचार