काठमाडौं । नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी हटाउने बारेमा कुनै निर्णय नभएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पोखरेलले सुकुम्बासीका बारेमा कुनै निर्णय भएको छैन भनेर पन्छिएका हुन् ।
मन्त्री पोखरेललाई पत्रकारले काठमाडौँदेखि देशैभर सुकुम्बासी व्यवस्थापन नगरेर किन हटाएको भनेर प्रश्न गरेका थिए । मन्त्री पोखरलले पत्रकारतिर पुलुक्क हेरेर सुकुम्बासीका बारेमा कुनै निर्णय भएको छैन भन्ने जवाफ दिए । मन्त्री पोखरेलले मन्त्रीपरिषद्का केही निर्णय मात्रै सुनाएर फर्किएका थिए । सरकारले काठमाडौको थापाथली सहित देशैभर अनधिकृत रुपमा बसोबास गरेका टहरा हटाई रहेको छ ।
काठमाडौँको थापाथलीको सुकुम्बासी हटाउन आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिइ सकेका छन् ।
आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी सुरक्षा अधिकृतले बताएका छन् ।