काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनबाट आफै गाडी चलाएर निस्किएका छन् । मंगलबार आफूविरुद्ध परेको मुद्दाको बहसमा पुगेका उनी साँझ अदालतबाट फर्किएका हुन् ।
उनको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीहरूले आजै फैसला दिने गरी
सामान्यतया अदालतको समयभन्दा बढी बहस गरेका थिए ।
न्यायाधीशहरूले समय लम्ब्याएर फैसला सुनाउने तयारीमा जुटे पनि मुद्दाको ‘हेर्दाहेर्दै’मा राखिएको छ । मंगलबार सन्दीपको मुद्दा पहिलो नम्बरमा राखेर बहस सुरु गरिएको थियो ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो । यस्तै, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँ कायम गरेको थियो । त्यसविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए ।
आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो । स्रोतका अनुसार अर्को बहस भोलि सोही अवस्थाबाट सुरु हुनेछ ।
यस्तै, पीडित किशोरी गौशाला २६ पनि अदालत पुगेकी थिइन । उनी पनि साँझसम्म अदालतमा बसेकी थिइन् ।