ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।
महामन्त्री शर्माले भने, “सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।”
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरे । उनले थपे, “पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धि हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।”
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभइ विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका थिए । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नु पर्ने अभिभार कांग्रेसको रहेको बताए ।
महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नु पर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नु पर्ने जोड दिए । “वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टी र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमश समाधान गरेर जाने सङ्कल्प र दृढता राख्नु पर्छ,” उनले भने ।
महामन्त्री शर्माले राजनीतिकप्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताए ।