एउटै मेसिन किन्न ४१ करोड भ्रष्टाचार, तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी ४१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पाँच कर्मचारी, ठेकेदार कम्पनी म्याक्स इन्टरनेसनल र त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक पौडेल र म्याक्सका सीईओ हुसेनको आपसी मिलेमतोमा सार्वजनिक खरिद कानूनविपरीत खरिद कार्य गरेको भेटिएको अख्तियारको दाबी छ ।

खरिद प्रक्रियामा संलग्न भएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल, केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

केन्द्रकै तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरुद्ध पनि मुद्दा दायर भएको छ । म्याक्स इन्टरनेसनल र कम्पनीका सीईओ हुसेनलाई पनि मुद्दा दर्ता गरेको छ ।

आयोगले सेक्युरिटी प्रिन्टिङका लागि आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड रुपैयाँ घोटाला भएको ठहर गरेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध गत वर्ष वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार