विवाहको उत्सव एकाएक शोकमा बदलियो

0 Shares

काठमाडौं । तनहुँको छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटा पक्ष बेहुली लिन भानुको मिर्लुङ पुग्यो ।

आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । बेहुला–बेहुली चढेको गाडी घर पुगिसकेको थियो । तर, जन्ती बोकेर आउँदै गरेको बोलेरो जीप दुर्घटनामा पर्‍यो ।

आँबुखैरेनी गाउँपालिका १ गिरानचौरस्थित भित्री सडक खण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भयो । आज थप एक जनाको मृत्यु भएको छ । दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ ।

आँबुखैरेनी ६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । उनले भने, “खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ, गाउँ शोकमा डुबेको छ ।”

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये सबैभन्दा पछाडि आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । उनले थपे, “दुई वटा गाडी घर पुगिसकेको थियो, आफन्त चढेको बोलेरो जीप दुर्घटना भयो, घाइतेहरु पनि आफन्त हुन् ।”

जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा १६ जना घाइते भएका थिए । घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका ६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका ९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार