गगनपक्षले कारबाही गर्ने धम्की दिएपछि देउवापक्ष चुपचाप

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापापक्षले तत्कालीन सभापति शेरबहादुर देउवापक्षलाई जथाभाबी विज्ञप्ति जारी गर्दै समानान्तर कमिटी चलाए कारबाही गर्ने धम्की दिएको थियो । पार्टीका अनुशासन समितिका सभापति तारामान गुरुङले चैत १९ गते बैठक बोलाएर देउवा पक्षका कार्यबहाक सभापति पूर्णबहादुर खड्काले पार्टी नीति विपरीत विज्ञप्ति जारी गर्दै हिँडेकाले त्यस्तो कार्य गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेसले निवर्तमान कार्यवाहक सभापति खड्काले कार्यवाहकको नाममा गतिविधि गरे कारबाही गर्ने चेतावनीसमेत दिएको हो । ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटर प्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । साथै, अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो–कोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।

खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि किचलो सतहमा आएको थियो ।

कांग्रेस अनुशासन समितिका संयोजक गुरुङले पार्टी अनुशासनको विषय पार्टीका सबै नेता र कार्यकर्तामा लागू हुने बताए । ‘अबदेखि गलत काम गरे विधानअनुसार कानुनी कारबाही अघि बढ्छ,’ उनले भने, ‘विधान विपरीत गतिविधि गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउँछन् ।’ कांग्रेसमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । देउवा पक्षको गतिविधिमा नेता शेखर कोइराला पक्ष पनि सहभागी हुँदै आएका थिए ।

पार्टी सभापति थापा पक्ष खड्का पक्ष विरुद्ध आक्रामक रूपमा उत्रिएपछि पछिल्लो समय कांग्रेस विवाद बाहिर आएको छैन । पार्टीमा शक्तिशाली मानिएको देउवा गुट महाधिवेशनबाट वैधानिकता नपाएपछि थापा पक्षबाटै टिकट लिएर निर्वाचनमा सहभागी भएका थिए । निर्वाचनमा पराजित भएपछि फेरि देउवा पक्ष समानान्तर कमिटी चलाउने गरी गतिविधिमा सक्रिय भएका थिए । बैठकमा भेला बोलाउनुका साथै पार्टीकै लेटर प्याड प्रयोग गरेर उपस्थित जनाएका थिए ।

उक्त गतिविधिलाई थापा पक्षले गम्भीर रूपमा लिएर कारबाही गर्ने चेतावनी दिएपछि पछिल्लो समय खड्का पक्ष चुपचाप भएको नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार