गृहमन्त्री सुदन गुरुङले बनाए सबैतिर त्रास, नेतादेखि व्यापारीसम्म पक्राउ

0 Shares

काठमाडौं । जेनजी आन्दोलनमा हामी नेपाली संस्थाबाट पानी वितरण गर्न थालेपछि सुदन गुरुङ सिनमा देखिन थालेका हुन् । जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्त भयो । सरकारविहीनको अवस्था भएपछि नागरिकका तर्फबाट सुशीला कार्की नेतृत्वको सरकार गठन गर्ने अवस्थासम्म आउँदा गुरुङ निर्णाय भई सकेका थिए ।

फागुन २१ गतेको चुनावी प्रचारका क्रममा सुदन गुरुङ डमीसँग भोट माग्ने देखिए । भरियाको भारी बोकेर प्रचार गर्दा सामाजिक सञ्जालदेखि मिडियासम्म गुरुङ चर्चामा रहे । निरन्तर नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले जित्ने क्षेत्रबाट ३८ वर्ष गुरुङ निर्वाचित भएर सांसदमा छिरे । संसद छिरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीको जिम्मेवारी गुरुङलाई दिएपछि उनको चर्चा देश मात्रै होइन विदेशसम्म चुलिन थाल्यो ।

गत चैत १३ गते गुरुङले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने चर्चा हुँदा अपरिपक्क व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै एकाध असन्तुष्टी देखिएको थियो । गुरुङले जिम्मेवारी सम्हालेको २४ घण्टा बित्न नपाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ परे ।

ओली र लेखकलाई रातभर प्रहरीसँग छलफल गरेका गुरुङले १४ गते झिसमिसेमै दुवै जनालाई पक्राउ गरे । गौरीबहादुर कार्कीको प्रतिवेदनले जेनजी आन्दोलनमा दोषी देखाएपछि गृहमन्त्रीले ओली र लेखक दुवैलाई पक्राउ गरेका हुन् । नेकपा एमाले निकट नेता कार्यकर्ताले उनको विरोध गरे पनि आमसर्वसाधरणले प्रशंसा नै गरे ।

त्यसपछि पूर्वमन्त्री एवम् कांग्रेसका नेता दीपक खड्का र एमालेकै लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न थालेपछि पक्राउको श्रृंखला रोखिएको छैन । पछिल्लो समय टोल टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ सुरु गरेको छ।

चैत १८ गतेदेखि २१ गतेसम्म देशका विभिन्न स्थानमा चलाइएको यो विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, पक्राउ पर्नेहरूमा सर्वसाधारणलाई सास्ती दिने बिचौलियादेखि सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने र गुन्डागर्दीमा संलग्न व्यक्तिहरू छन्।

अभियानको पहिलो दिन अर्थात् चैत १८ गते काठमाडौं उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना समातिएसँगै प्रहरीको यो सक्रियता ह्वात्तै बढेको हो। त्यसको भोलिपल्ट १९ गते कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट थप ४४ जना पक्राउ परे।

प्रहरीले आफ्नो अपरेशनलाई निरन्तरता दिँदै २० गते मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमबाट २४ जनालाई नियन्त्रणमा लियो भने २१ गते काठमाडौं उपत्यकामा पुनः ठूलो संख्यामा ‘स्वीप’ गर्दै ६२ जनालाई फन्दामा पारेको छ।

यात्रा गर्ने यात्रुलाई दुःख दिने ३१ जनालाई प्रहरीले पक्राउ गरी सकेको छ । नयाँ बसपार्क, कलंकी, कालिमाटीलगायत क्षेत्रबाट यात्रुलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी यात्रुहरूलाई आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने, आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।

गृहमन्त्री गुरुङले भ्रष्टाचारी, बिचौलिया, गैरकानुनी कार्य गर्ने नेता, कर्मचारी, व्यापारी, कलाकार, दादागिरी गर्ने अधिकांशलाई समाएर त्राइमाम बनाएका छन् । केही दिनअघि गुरुङले गृह मन्त्रालयकै सोफामा सुतेको फोटो हालेर दिन रात काममै खटिएको सन्देश दिएका छन् ।

एकपछि अर्को गर्दै गृहमन्त्री गुरुङले पक्राउ गर्न थालेपछि आमजनताले पक्राउको अपडेट भन्दै सामाजिक सञ्जालमा लेख्नसमेत थालेका छन् । यसरी एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि गलत काम गर्नेहरुको मनोबल खस्किएको छ ।

सम्बन्धित समाचार