काठमाडौं । पछिल्लो समय टोल-टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ सुरु गरेको छ। चैत १८ गतेदेखि २१ गतेसम्म देशका विभिन्न स्थानमा चलाइएको यो विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, पक्राउ पर्नेहरूमा सर्वसाधारणलाई सास्ती दिने बिचौलियादेखि सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने र गुन्डागर्दीमा संलग्न व्यक्तिहरू छन्।
अभियानको पहिलो दिन अर्थात् चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना समातिएसँगै प्रहरीको यो सक्रियता ह्वात्तै बढेको हो। त्यसको भोलिपल्ट १९ गते कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट थप ४४ जना पक्राउ परे।
प्रहरीले आफ्नो अपरेशनलाई निरन्तरता दिँदै २० गते मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमबाट २४ जनालाई नियन्त्रणमा लियो भने २१ गते काठमाडौँ उपत्यकामा पुनः ठूलो संख्यामा ‘स्वीप’ गर्दै ६२ जनालाई फन्दामा पारेको छ।
निशानामा बिचौलिया र ‘टोल डन’ विशेष गरी मालपोत र यातायात कार्यालय जस्ता सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा सेवाग्राहीलाई हैरानी दिने बिचौलियाहरू प्रहरीको प्राथमिकतामा परेका छन्। ‘सार्वजनिक सेवा लिन जाने नागरिकलाई दुःख दिने र समाजमा अराजकता फैलाउने जोकोहीलाई पनि छुट दिइने छैन,’ प्रवक्ता काफ्लेले भने, ‘यो अभियान अहिलेलाई सुरुवात मात्र हो, यो अझै सशक्त रूपमा अघि बढ्छ।’
लामो समयदेखि सरकारी कार्यालयमा हुने ‘सेटिङ’ र टोल-टोलमा मौलाएको टोले गुन्डाहरूको प्रभावका कारण आम नागरिक त्रसित बन्ने गरेको गुनासोपछि गृह प्रशासनको निर्देशनमा प्रहरीले यो ‘एक्सन’ लिएको हो। प्रहरीले सार्वजनिक स्थलको सुरक्षा र सुशासन कायम गर्न सिभिल ड्रेसमा समेत टोली परिचालन गरी निगरानी बढाइरहेको छ।