काठमाडौं । सिन्धुपाल्चोकमा जबरजस्ती करणी जस्तो गम्भीर अपराधको मुद्दालाई पैसाको प्रलोभन मिलापत्र गराउन खोज्ने साच जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विशेष सूचनाका आधारमा चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका २ का ४५ वर्षीय श्रीकाजी दोङ, ५० वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षीय मिकमार दोङ, ३१ वर्षीय विशाल दोङ, ३२ वर्षीय नेत्र दोङ र ५२ वर्षीय ङेमा छिरिङ लामा छन् ।
प्रहरीका अनुसार २०८२ चैत १६ गते दर्ता भएको जबरजस्ती करणी मुद्दाका प्रतिवादीसँग मिलेर बिचौलियाले पीडित र उनीहरूको परिवारलाई मुद्दा फिर्ता लिन र मिलापत्र गर्न दबाब दिएका थिए । उनीहरूले कानुनविपरीत आर्थिक लेनदेन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यस क्रममा ५ लाख १६ हजार ९३२ रुपैयाँ नगद, ग्लोबल आईएमई बैंक र सिन्धु विकास बैंकका गरी २ लाख ३५ हजार रुपैयाँ बराबरको नकाटिएको र काटिएको चेकसँगै फोन बरामद गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २२७ (क) अनुसार जबरजस्ती करणी जस्ता जघन्य अपराधमा मिलापत्र गराउनु वा गराउन खोज्नु आफैँमा कसुर हो ।