काठमाडौंमा गुण्डागर्दी गर्ने १८ जना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो।

परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङ पक्राउ परेका छन्।

कलंकी-बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन पक्राउ परेका छन्। कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा सुजन कार्की पक्राउ परेका छन्।

त्यस्तै, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा सरू हुमागाईंलाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए। उनले पनि आफ्नै समूह बनाउन थालेको प्रहरीको निष्कर्ष छ।

परिसरले बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिकी लामालाई पक्राउ गरेको छ। त्यस्तै, काठमाडौं अपराध अनुसन्धान कार्यालयले पनि १३ जनालाई पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।

‘रातभर अपरेसन सञ्चालन गर्‍यौं। ठमेल, दरबारमार्ग, सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरू पक्राउ परेका छन्,’ उनले भने।

सम्बन्धित समाचार